काठमाडौं । साढे ३ महीनाभित्र कुर्था–जनकपुर–जयनगर (३५ किमी) मा नेपालले आफ्नै रेल सञ्चालन गर्ने भएको छ । भारतसँग भाडामा लिएर सञ्चालन गर्ने पूर्व सोचमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफै रेल खरीद गरी सञ्चालन गर्न लागेको हो ।
यसका लागि सरकारले प्रतिरेल रू. ५० करोड छुट्याएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए । मन्त्रालयमा आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले आगामी जनवरी १० तारीख (पुस २६)मा रेल खरीदका सम्बन्धमा भारतसँग सम्झौता हुन लागेको जानकारी दिए । ‘सम्झौताको ३ महीनाभित्र पहिलो रेल आउनेछ,’ उनले भने, ‘जम्मा सञ्चालनमा ल्याइने दुईमध्ये दोस्रो रेल भने त्यसको ३ महीनापछि आउनेछ ।’
नेपालले आफ्नै रेल खरीदका सम्बन्धमा २ साताअघि बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेको थियो । भारतको जयनगरबाट नेपालको जनकपुर आउने रेल किन्न १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिए पनि सरकारले पहिलो चरणमा रेल खरीदका लागि ५० करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिएको थियो ।
हाल उक्त खण्डमा रेलको लिक ओछ्याउने काम सम्पन्न भइसकेको छ । ३ महीनापछि सञ्चालनमा आउने उक्त रेल सेवा थप १७ किमी विस्तार गरी १ वर्षभित्र बिजुलपुरा पुर्याउने लक्ष्य छ । त्यसैगरी २ वर्षमा बर्दिवास र ४ वर्षमा निजगढसम्म सम्पन्न हुनेछ ।
सरकारले काँकडभिट्टादेखि गड्डाचौकी (१०४७ किमी) रेल सेवा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । त्यसैगरी काठमाडौं–वीरगञ्ज रेलमार्ग विकासका लागि क्रमशः भारत र चीनले पूर्व सम्भाव्यता अध्ययनमा काम गरेका छन् ।
धेरै लाइसेन्स कार्ड छाप्न मास प्रिन्टर खरीद
१२ लाख नयाँ सवारी लाइसेन्स कार्ड (स्मार्ट) छाप्नका लागि सरकारले मास प्रिन्टर खरीद गर्ने भएको छ । हाल सञ्चालनमा रहेको प्रिन्टरले प्रतिघण्टा ५० ओटा मात्रै कार्ड छाप्ने गर्छ । तर, आफू मन्त्री भएर आउँदा ४ लाख कार्ड छाप्न बाँकी (ब्याकलग) रहेकाले मास प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको मन्त्री महासेठले बताए । खरीद गर्न लागिएको उक्त प्रिन्टरले प्रतिघण्टा ४ सयभन्दा बढी कार्ड छाप्ने उनले जानकारी दिए ।
प्रतिकृया दिनुहॊस