प्रधानमन्त्रीद्वारा विपिन जोशीको बहादुरीको उच्च प्रशंसा : ‘राष्ट्रले कहिल्यै बिर्सन सक्ने छैन’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इराकमा बन्धक बनाई हत्या गरिएका नेपाली विद्यार्थी विपिन जोशीको अतुलनीय साहस र त्यागको उच्च प्रशंसा गर्दै राष्ट्रले उनको योगदानलाई कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । मङ्गलबार जोशीको दुःखद निधनको खबरले स्तब्ध भएकी प्रधानमन्त्री कार्कीले एक समवेदना सन्देश जारी गर्दै जोशीलाई ‘नेपाली गौरवको प्रतीक’ का रूपमा सधैँ जीवित रहने उल्लेख गरेकी छन् ।

प्रधानमन्त्रीले जारी गरेको समवेदना सन्देशमा भनिएको छ, ‘उनी त अब हामीमाझ रहेनन्, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उनले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाएको कुराले हामी सबैलाई उनीप्रति सदा कृतज्ञ बनाएको छ । उनको यो वीरतापूर्ण कार्य, उनको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उनलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।’

दुई वर्षदेखि बन्धकमुक्तिको अटुट आशा र सामूहिक प्रार्थनाबीच मंगलबार विपिन जोशीको मृत्यु पुष्टि भएको खबरले आफू र समस्त नेपाली मर्माहत भएको प्रधानमन्त्रीले बताइन् । यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको भन्दै उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गरेकी छन् ।

समवेदना सन्देशमा जोशीलाई केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधिका रूपमा चित्रण गरिएको छ । उनको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको स्मरण गर्दै प्रधानमन्त्रीले भनिन्, ‘उनी सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनेछन् भन्ने हाम्रो कामना थियो ।’

सदा शान्ति पक्षधर नेपालको एक छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको समवेदना सन्देशमा उल्लेख छ । दुई वर्षदेखिको अथक प्रयास र आशामाथि जोशीको निधनको खबरले बज्रपात गरेको र सम्पूर्ण सपनाहरू छिन्नभिन्न पारेको बताइएको छ ।

प्रधानमन्त्रीले जोशीको त्याग र बलिदानलाई राष्ट्रले कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गर्दै उनको स्मृतिमा राष्ट्रले उचित सम्मान दिने सङ्केत गरेकी छन् । उनको निधनले नेपाली समाजमा गहिरो शोक छाएको छ, तर उनले देखाएको बहादुरीले सबैलाई प्रेरणा दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री