काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारणसभा आज नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादीमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, आषाढ मसान्त २०८२ सम्मको वासलात, नाफा–नोक्सान विवरण र अन्य सम्बन्धित अनुसूचीहरूलाई सर्वसम्मतिका साथ अनुमोदन गरेको छ ।
साधारणसभाको मुख्य आकर्षणका रूपमा सेयरधनीहरूका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ। यस निर्णयसँगै कम्पनीले आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले कुल ५ करोड रुपैयाँ (लाग्ने करसहित) बराबरको नगद लाभांश प्रदान गर्ने भएको छ। यो निर्णयले कम्पनीको सुदृढ वित्तीय अवस्था र सेयरधनीहरूप्रति उत्तरदायी भूमिकालाई थप उजागर गरेको छ।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको लेखापरीक्षण गर्न मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ। साथै, उनीहरूको पारिश्रमिक समेत निर्धारण गरिएको छ।
कम्पनीका अध्यक्षले साधारणसभामा उपस्थित सम्पूर्ण सेयरधनीहरू, सञ्चालक समिति सदस्यहरू र कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा कम्पनीले अझ राम्रो प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । यस सफलताले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई पुँजी बजारमा एक अग्रणी संस्थाको रूपमा स्थापित गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।




