चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री सुशीला कार्कीद्वारा दलाई लामालाई दिइएको समर्थन सामान्य विषय नभएको बताएका छन्। भरतपुरमा आयोजित पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष केसीले देशमा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको दाबी गर्दै समयमै जनता सचेत नभए नेपाल पनि प्यालेस्टाइन वा युक्रेन बन्ने चेतावनी दिए। केसीले जेनजी आन्दोलनको पछाडि अमेरिकी र भारतीय साम्राज्यवाद तथा तिनका जासुसी संस्था संलग्न रहेको आरोप लगाउँदै आन्दोलनले देशलाई खरानी बनाएको उल्लेख गरे । उनले आन्दोलनको नेतृत्व एनजिओ पृष्ठभूमिका व्यक्तिहरूले लिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
उनले जनताले गलत शक्तिलाई मत दिएको कारण देशले अहिलेको अवस्था भोग्नुपरेको बताएका छन् । अध्यक्ष केसीले सत्ता सञ्चालन गरिरहेका ठूला राजनीतिक दलको भ्रष्ट चरित्रकै कारणले देश उभो लाग्न नसकेको बताए। दलहरूले चुनावलाई समेत भ्रष्ट बनाएको भन्दै चिन्ता व्यक्त गरे।
केसीले आफ्नो पार्टीको नीति सही भएकाले आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार नगरेको दाबी पनि गरे।




