काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
नेविसंघले गत भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनका क्रममा भएको घटनामा संलग्नता रहेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै उजुरी दर्ता गराएको हो ।
उजुरीमा आन्दोलनका नाममा विद्यार्थीहरूलाई उक्साउने, आगजनी तथा तोडफोडमार्फत राष्ट्रिय सम्पदामा क्षति पुर्याउने, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाइएको छ । घटनामा संलग्नता रहेको भन्दै बालेन शाह र सुदन गुरुङलाई २४ घण्टाभित्र पक्राउ गरी अनुसन्धान थाल्नुपर्ने नेविसंघको माग छ ।
उजुरी दिनेमा नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन् । उनीहरूले सार्वजनिक रूपमा दुवै व्यक्तिमाथि तत्काल छानबिन हुनुपर्ने माग राखेका छन् ।
यसअघि सोही आन्दोलनमा दमन गरिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि उजुरी दिइएको थियो । त्यसपछि नेकपा एमाले निकट अनेरास्ववियुले समेत सुदन गुरुङ नेतृत्वको समूहविरुद्ध उजुरी दिएको थियो ।




