जेनजी आन्दोलनबाट २३ अर्बभन्दा बढीको बीमा दाबी, समग्र क्षति १ खर्ब ८० अर्ब नाघ्यो

काठमाडौं । हालै सम्पन्न जेनजी आन्दोलनले देशभर ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ, जसको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, गत बुधबारसम्ममा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन्।

प्राधिकरणका तथ्यांकअनुसार, निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति भुक्तानी गरिसकेका छन्। क्षतिको सर्भे प्रतिवेदन तयार पार्नका लागि २ हजार ७ सय ६ जना सर्भेयर खटिएका छन्, जसमध्ये हालसम्म ३७४ वटा प्रतिवेदन पेस भइसकेका छन्।

सरकारले पनि आन्दोलनबाट भएको क्षतिको प्रारम्भिक आँकलन सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री कुलमान घिसिङले केही दिनअघि पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। यो आँकडा सार्वजनिक र निजी दुवै क्षेत्रको प्रारम्भिक अध्ययनमा आधारित छ।

आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण ठूलो मात्रामा क्षति देखिएको छ। सार्वजनिक सम्पत्तिमा मात्रै करिब १ खर्ब रुपैयाँ बराबरको क्षति भएको मन्त्री घिसिङले बताएका छन्। सरकारी सम्पत्तिको बीमा गर्ने प्रचलन कम भएकाले सार्वजनिक क्षेत्रमा ठूलो नोक्सानी भएको देखिन्छ, जबकि निजी कम्पनीहरूले आफ्ना सम्पत्तिको बीमा गराउँदा केही हदसम्म क्षतिपूर्ति प्राप्त गर्न सक्षम भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री