रक्षा बमको स्पष्टीकरण- जितजस्तो महसुस भएर फोटो राखेकी हुँ (भिडियोसहित)

काठमाडौं । जेन-जी आन्दोलनकी अगुवा रक्षा बमले आफूमाथि लागेका विभिन्न आरोपहरूको खण्डन गर्दै सरकारसमक्ष आन्दोलनका क्रममा भएका हरेक फौजदारी कसुरमा निष्पक्ष छानबिनको माग गरेकी छन् । बुधबार राति सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले आफू कुनै राजनीतिक दलको कार्यकर्ता नभएको र विदेशी एजेन्टका आरोपहरूलाई ‘उग्र राष्ट्रवाद’ मात्र भएको बताएकी हुन् ।

बमले सेप्टेम्बर ८ पछिका घटनाक्रमबारे सबै प्रस्ट रहेको बताउँदै एक महिनाअघिको दिनलाई स्मरण गरेकी छन्, जुन दिन जेन-जी आन्दोलन भएको थियो । ‘तत्कालीन सरकारले हामी र हाम्रा साथीहरूमाथि गोली दागेको थियो, बर्बरतापूर्वक हाम्रा साथीहरूको हत्या गरेको थियो,’ उनले भनिन् । शान्तिपूर्ण रूपमा सुरु गरिएको आन्दोलनमा अराजकता फैलिएको र धेरै साथीहरू गुमाउनु परेको उनको भनाइ छ ।

रक्षा बमले केही समयअघि काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूमाथि गरेको दमनको विरोधमा ‘गरिखाना देउ’ अभियान चलाएको जानकारी दिइन् । यस अभियानअन्तर्गत महानगरपालिकाअगाडि १०९ घण्टा उभिएर जवाफदेहिता माग गरिएको थियो । यस्तै, लुम्बिनीदेखि सिंहदरबारसम्म पैदलयात्रा गरी सुझावपत्र तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो फोटोलाई लिएर उनलाई माओवादीको झोले भनिएको थियो ।

सिंहदरबारअगाडिको भाइरल फोटोबारे…
सामाजिक सञ्जालमा भाइरल भएको सिंहदरबारअगाडिको आफ्नो फोटोबारे पनि बमले स्पष्टीकरण दिएकी छन् । ‘त्यो सेप्टेम्बर ९ को फोटो थियो,’ उनले भनिन्, ‘सेप्टेम्बर ८ मा हामीसँग जे व्यवहार भयो, त्यसको आक्रोश लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रिएका थियौँ । हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौँ, र त्यसबेला प्रधानमन्त्रीको राजीनामा आएको थियो । सिंहदरबार राज्यको प्रतीक भएकाले एउटा बिम्बस्वरूप हामीले जित्यौं भनेर जितको खुसी मनाएर त्यहाँ फोटो राखेको थिएँ । त्यसबेला सिंहदरबारको गेट जलिरहेको थियो, म आक्रोशित थिएँ र एक किसिमको जितजस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो ।’

बमले यस घटनामा राजनीतिक दृष्टिकोणले मात्र नहेरी अनुसन्धान हुनुपर्नेमा जोड दिएकी छन् । उनले सिंहदरबार जलाउनेहरूलाई र गोली दाग्नेहरूलाई पनि अनुसन्धान गरी कारबाही हुनुपर्ने माग गरेकी छन् । ‘हरेक फौजदारी अभियुक्त लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ । सुरुवात मबाट नै हुनुपर्ने हो भने म पनि तयार छु,’ उनले भनिन् ।

उनले आफ्नो नाम कुनै एक राजनीतिक पार्टीको सदस्यसँग मिल्ने भएकाले आफूलाई ‘एमाले’ भनिएको र अन्य किसिमका आरोप लगाइएकोमा आपत्ति जनाइन् । ‘तपाईंहरूले पहिला अनुहार चिन्न आवश्यक छ,’ उनले भनिन् । आफूलाई ‘विदेशी एजेन्ट’ को ट्याग लगाएर कुराहरू गरिनु गलत भएको उनको भनाइ छ । उनले सन् २०२२ मा यूएसवाईएसआई (USYCI) को फेलोसिपमा सूचनाको हक सम्बन्धी तालिम लिएको र युवाहरूको सञ्जाल बनेको स्पष्ट पारिन् । उनले यी आरोपहरूलाई ‘उग्र राष्ट्रवाद’ मात्र भएको बताइन् ।

रक्षा बमले आफूलाई आउने मृत्युका धम्की र बलात्कारका धम्कीले कुनै फरक नपर्ने बताउँदै आफू खुट्टा कमाउने मान्छे नभएको बताइन् । उनले आन्दोलनको मुद्दा नबिर्सेको र सहिद तथा घाइते साथीहरूले न्याय पाउनुपर्नेमा जोड दिइन् । ‘म सधैं सडकमा न्यायको पक्षमा उभिने, सत्यको पक्षमा उभिने मान्छे हो, त्यसैले म डराउँदिनँ,’ उनले भनिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री