काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भई बयान कागज गराएका छन् । एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप लगाएपछि बस्नेतमाथि अनुसन्धान सुरु भएको हो ।
बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका बस्नेतले आफूमाथि लागेको आरोपबारे बयान दिएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । ‘उहाँ बिहान उपस्थित हुनुभएको हो । सरकारी वकिलको निर्देशन बमोजिम उहाँको कागज गराएका छौं । फर्किसक्नुभएको छ,’ एसपी अवस्थीले भने ।
प्रहरीले यसअघि जिल्ला अदालत काठमाडौंबाट बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो । तर, अदालतले पुर्जी दिन अस्वीकार गरेपछि बस्नेतलाई बयानका लागि बोलाइएको हो । कानुनअनुसार, कुनै पनि आरोपित वा प्रतिवादीको बयान सरकारी वकिलको रोहबरमा लिइन्छ ।
घटनाको सुरुवातमा एक महिलाले आफूमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । ब्युरोले सुरुमा जाहेरी दर्ता नगरेपछि पीडित महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पठाएकी थिइन् ।




