काठमाडौं । निवर्तमान सांसद सुमना श्रेष्ठले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) र जेनजीका अगुवा सुदन गुरुङ (सुधन) विरुद्ध नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले किटानी जाहेरी दिएकोमा आलोचना गरेकी छन् ।
आन्दोलनका क्रममा युवा मारिएको घटनामा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जेनजीले काठमाडौँ जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी दिएपछि अनेरास्ववियु प्रतिवादमा उत्रिएको थियो ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी नेतृ श्रेष्ठले अनेरास्ववियुको उक्त कदमको विरोध गर्दै दलीय भ्रातृ संगठन खारेज गर्नुपर्ने माग राखेकी छिन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘युनिफर्ममा भएको विद्यार्थीलाई गोली हान्यो- मतलब छैन विद्यार्थी संगठनलाई! तर गोली चलाउन आदेश दिने दलको प्रमुखमाथि उजुरी गर्यो, तुरन्त जाइलाग्यो ।’
श्रेष्ठले यस घटनालाई औँल्याउँदै दलीय भ्रातृ संगठनले विद्यार्थी र सम्मानित पेसाको मर्यादामा आँच पुर्याएको आरोप लगाएकी छिन् । उनले थप लेखेकी छन्, ‘यसैले दलीय भ्रातृ संगठन- चाहे त्यो विद्यार्थीको होस् वा प्रशासनको वा प्राध्यापकको वा शिक्षकको/खारेज गर्नुपर्छ ! सम्मानित पेसालाई सम्मानित रहन देऊ! विद्यार्थीलाई विद्यार्थी रहन देऊ !’
जेनजी आन्दोलनका क्रममा युवाको मृत्यु भएको घटनामा पूर्वप्रधानमन्त्री ओलीविरुद्ध जेनजीले जाहेरी दिएपछि अनेरास्ववियुले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दिएको थियो ।




