नेपाली कांग्रेसले विपद्सँग जुध्न ‘स्वयंसेवी समूह’मार्फत काम गर्ने

काठमाडौं । अविरल वर्षा र त्यसबाट सिर्जित बाढी तथा पहिरोले देशभर ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद् व्यवस्थापनमा सक्रियता देखाएको छ । पार्टीले आफ्ना भ्रातृ संस्थाहरूलाई ‘स्वयंसेवी समूह’ मार्फत विपद् प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको ‘विपद् केन्द्रित विशेष बैठक’ ले यो महत्वपूर्ण निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, भ्रातृ संस्थाहरूका स्वयंसेवकहरूलाई स्थानीय रूपमा परिचालन गरिसकिएको छ ।

देशका विभिन्न जिल्लामा भएको मानवीय क्षतिप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । विशेष गरी इलाम, रौतहट, खोटाङ र उदयपुरलगायतका जिल्लामा वर्षा र पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति पार्टीले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

कांग्रेसले थप मानवीय क्षति हुन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायहरू र स्थानीय स्वयंसेवीहरूमा विशेष अपिल गरेको छ । विपद्को यस घडीमा राज्यबाट जारी गरिएका सूचनाहरूको पालना गर्न, आफ्नो सुरक्षामा सचेत रहन र अरूको सुरक्षामा सहयोग पुर्‍याउनु सबै नागरिकको कर्तव्य भएको पनि पार्टीले स्मरण गराएको छ ।

यसअघि पनि प्राकृतिक विपत्तिका बेला नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता र भ्रातृ संस्थाहरूलाई स्वयंसेवामा खटाउँदै आएको थियो । यसपटकको अविरल वर्षाले निम्त्याएको संकटमा पनि पार्टीले अग्रसरता लिएर मानवीय सहायतामा जुट्ने प्रतिबद्धता जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री