अपडेट : बागमती र कोशीका यी १९ ठाउँमा सडक अवरुद्ध (सूचीसहित)

काठमाडौं । आइतबारदेखि परेको अविरल वर्षा र त्यसबाट सिर्जित बाढी-पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डहरू पूर्ण रूपमा ठप्प छन् ।

कोशी प्रदेशमा विशेष गरी पहाडी जिल्लाहरूमा सडक अवरोधले विकराल रूप लिएको छ ।

  • संखुवासभा: भोटखोला गाउँपालिका-४ को बरुणखोला, मकालु गाउँपालिका-३ को एकुवा र मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

  • ओखलढुंगा र उदयपुर: सिद्धिचरण लोकमार्ग ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा अवरुद्ध छ ।

  • धनकुटा: पाख्रीबास, दिकुरे, साँगुरीगढीको चनौटे र ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग पनि बन्द भएका छन् ।

  • इलाम: इलाम नगरपालिकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा पनि वर्षा र पहिरोले सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ ।

  • रसुवा: गोसाइँकुण्ड गाउँपालिका-२ र ५ को स्याफ्रुबेँसीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ ।

  • सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिका-४, चारकिलो क्षेत्रमा सडक अवरुद्ध छ ।

  • काभ्रेपलान्चोक: डालाबेसी र बुल्ढुंगा क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको छ ।

  • मकवानपुर: भीमफेदी र बकैया क्षेत्रमा सडक अवरुद्ध छ भने इन्द्रसरोवर गाउँपालिका-३ को सिस्नेरी बजार क्षेत्रमा दक्षिणकाली-काठमाडौं खण्ड पनि बन्द भएको छ ।

  • सिन्धुली: मरिण गाउँपालिका-२ को सिन्दुरे क्षेत्रमा अवरुद्ध मदन भण्डारी राजमार्ग आंशिक रूपमा सुचारु भए पनि फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बीपी राजमार्ग भने पूर्ण रूपमा बप्प रहेको छ ।

नेपाल प्रहरीले राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको भन्दै अनावश्यक यात्रा नगर्न र सचेत रहन सबैलाई आग्रह गरेको छ । यातायात व्यवसायी र यात्रुहरूलाई वैकल्पिक मार्गको खोजी गर्न र राजमार्गको अवस्थाबारे अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री