काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले आज देशभरको मौसम बदली रहने र केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम तथा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर बदलीको अवस्था देखिएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका केही भू-भागमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षासमेत हुन सक्ने प्रक्षेपण गरिएको छ ।
आज राती भने कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । रातीको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। अन्य भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षा र मेघगर्जन/चट्याङका कारण हुन सक्ने जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । विशेषगरी पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा नदी किनारमा बस्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिइएको छ ।




