महागौरीको पूजा आराधना गर्दै महाअष्टमी पर्व मनाइँदै, शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौं दिन आज देशभर महागौरी देवीको विशेष पूजा आराधनासहित महाअष्टमी पर्व मनाइँदैछ । नवदुर्गाका नौ शक्तिस्वरूपा देवीमध्ये आठौं शक्तिका रूपमा महागौरीको पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार आज बिहानैदेखि शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्रभर शक्ति, ऐश्वर्य र विद्या प्राप्तिका लागि देवीको आराधना गर्ने धार्मिक विश्वास छ । यसै क्रममा आज महाअष्टमीमा सेतो वस्त्र धारण गरेकी, वृषमाथि आरुढ, त्रिशूल र डमरु लिएकी शान्त मुद्राकी महागौरीको पूजा गरिन्छ । महागौरीको पूजा गर्नाले मनोवाञ्छित फल प्राप्त हुने र सम्पूर्ण पाप नष्ट भई अक्षय पुण्य मिल्ने जनविश्वास छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौवटा दुर्गाका रूपलाई नवदुर्गा भनिन्छ ।

महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, कालिकास्थान, मैतिदेवी, बज्रबाराहीसहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको बाक्लो भीड लागेको छ । फूलपातीदेखि सार्वजनिक बिदा सुरु भएसँगै दशैंको विशेष रौनक पनि बढेको छ । मन्दिरहरूमा भजनकीर्तन र पूजाअर्चना भइरहेका छन् ।

नवरात्रभर गरिने देवीको पूजाआराधनाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व हर्षोल्लासपूर्वक मनाउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री