काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुराको जावलाखेलस्थित घरमा छापा मारेको छ । आइतबार भएको यो छापामा देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ भूषण राणा र उनका बुवाआमा बस्ने दुई छुट्टाछुट्टै घरमा खानतलासी गरिएको हो ।
सीआईबीका अनुसार, शंकास्पद नगद वा अन्य कागजात रहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । यद्यपि, विस्तृत खानतलासीका क्रममा प्रहरीले कुनै पनि शंकास्पद वस्तु फेला पार्न सकेन ।
छापा मार्ने क्रममा भूषण राणा भने घरमा उपस्थित थिएनन् । उनका बुवाआमा भने घरमै रहेको बताइएको छ । ललितपुर महानगरपालिका-४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै टोली खटाएर खानतलासी गरेको थियो ।
सीआईबीका एक अधिकारीले भने, ‘भूषण राणा घरमा हुनुहुँदैन थियो। उहाँको बुवाआमा बस्ने घरमा पनि केही भेटिएन ।’ प्रहरीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो । यस घटनाले राजनीतिक वृत्तमा चासो बढाएको छ ।




