काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर हुँदै गए पनि स्थानीय वायुको आंशिक प्रभावका कारण केही स्थानमा वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहेको छ ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति कोशी, मधेश प्रदेश लगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा देशका अन्य भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।



