काठमाडौं । राजधानीको मैतिदेवीमा साहित्यकारहरूले बडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा कविता वाचन कार्यक्रम सम्पन्न गरेका छन् । वरिष्ठ साहित्यकार तथा ‘बोल्दैन फोटो’ कृतिका लेखक डा. रामप्रसाद दाहालको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा साहित्यका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मल पराजुली, लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, वरिष्ठ समालोचक युवराज मैनाली, वरिष्ठ कवि ठाकुर शर्मा, कवि मुकुन्दराज दाहाल, साहित्यकार डा. नन्दीश अधिकारी र साहित्यकार केशवराज पन्तले आ-आफ्ना कविता, मुक्तक तथा समसामयिक प्रस्तुतिहरू राखेका थिए ।
यस अवसरमा ठाकुर शर्मा र युवराज मैनालीले दुर्गा भवानीका विविध रूप र पूजापाठ विधिमा आधारित कविताहरू सुनाएका थिए। मुकुन्द दाहालले नेपाली समाजका चाडपर्व र दशैंमा केन्द्रित कविता प्रस्तुत गर्दा निर्मल पराजुलीले दुई मुक्तक वाचन गरेर श्रोताको मन जितेका थिए ।
कार्यक्रमका संयोजक डा. रामप्रसाद दाहालले देशले भोगिरहेको पीडा र मनमा रहेको दुःखको अवस्थामा दुर्गा भवानीले सबैको कल्याण गरुन् भन्ने कामना व्यक्त गरे । उनले आगामी दिनमा आफ्ना भाइबहिनी तथा छोराछोरीले मृत्यु वरणका दुखद खबर सुन्न नपरोस् भन्दै मंगलमय शुभकामना प्रकट गरे ।
कार्यक्रमले साहित्यकारहरूलाई एकै ठाउँमा भेला गराई चाडपर्वको शुभकामना साट्ने र समसामयिक विषयमा आफ्ना सिर्जना प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो ।




