काठमाडौं । कर्णाली राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२-००६ प ८५६६ नम्बरको मोटरसाइकल र कर्णाली प्रदेश ०२-००१ ख ०२७५ नम्बरको ट्रक दैलेखमा ठोक्किँदा कालिकोटका १८ वर्षीय किशोर एडमन शाहीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भई ट्रकमा ठोक्किएको थियो । दुर्घटनापश्चात् मोटरसाइकलको पछाडि सवार खाडाचक्र नगरपालिका-११, कालिकोटका एडमन शाही सडकमा बजारिन पुगे । उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो ।
तत्काल उद्धार गरी उपचारका लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका-११ का २३ वर्षीय मोटरसाइकल चालक विपीन भारती रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।




