नेप्सेका अध्यक्ष र सीईओलाई कार्यालयमै ‘बन्दी’ बनाइयो, प्रहरी गर्‍यो मध्यरात उद्धार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) यतिबेला आन्तरिक किचलोको आगोमा जलिरहेको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले आफ्ना अध्यक्ष मेहनत बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईँलाई मंगलबार राति अबेरसम्म कार्यालयभित्रै ‘बन्दी’ बनाएका छन् । मध्यरातमा प्रहरीले हस्तक्षेप गरी दुवै उच्च अधिकारीको उद्धार गरेपछि नेप्सेभित्रको तनाव छताछुल्ल भएको छ ।

मंगलबार दिनभर कर्मचारीहरूले नेप्से परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । साँझ परेपछि उनीहरूले अध्यक्ष र सीईओलाई कार्यकक्षमै घेरा हाली धर्ना दिए । स्थिति यतिसम्म बिग्रियो कि, दुवै अधिकारी रातभर कार्यालयबाट बाहिर निस्कन पाएनन् । स्रोतले भन्यो, ‘हिजो दिनभर कर्मचारीहरू आन्दोलनमा थिए । उनीहरूले कार्यकक्षमै धर्ना दिँदै अध्यक्ष र सीईओलाई थुने । राति १२ बजे प्रहरी आएर उद्धार गरेको हो ।’

प्रहरी हस्तक्षेपपछि उद्धार गरिएका अध्यक्ष बस्याल र सीईओ चापागाईँ बुधबार कार्यालयमा उपस्थित भएका छैनन् । प्रहरीले उनीहरूलाई उद्धार गरी सिधै प्रहरी घर पुर्‍याएको बताइएको छ ।

यद्यपि, नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाले भने ‘बन्दी’ बनाइएको कुरामा इन्कार गरेका छन् । उनले भने, ‘हामी कर्मचारीहरू सबै कार्यालयमै थियौँ । उहाँहरूसँग नेप्से सुधारका लागि विभिन्न माग राख्दै धर्नामा बसेका हौँ । छलफल गर्दा पनि निष्कर्ष ननिस्किएपछि हामी कार्यालयमै बसेका हौँ । त्यहाँ उहाँहरुपनि हुनुहुन्थ्यो पछि प्रहरीले आएर उहाँहरूलाई लगेको हो ।’

थापाले अध्यक्ष र सीईओमाथि गम्भीर आरोप लगाउँदै उनीहरूले राजनीतिकरण गरेर नेप्सेलाई नै ‘बेच्न’ लागेको दाबी गरे । ‘नेप्सेका अध्यक्ष र सीईओले राजनीति गरेर नेप्से नै बेच्न लागेपछि आफूहरू नेप्से जोगाउने लागिपरेको उनको दाबी छ,’ थापाले भने ।

कर्मचारीहरूको आन्दोलन र उच्च व्यवस्थापनविरुद्धको यो कदमले नेप्सेभित्रको आन्तरिक कलह अब सार्वजनिक भएको छ । 

तपाईंको प्रतिकृया

लेखकबाट थप