काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा २ अर्ब ७१ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषमा रहेको यो रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा विभाजन गरी लगानी गर्ने तयारी गरेको हो।
राष्ट्र बैंकका अनुसार, ‘क’ वर्गका वाणिज्य बैंकहरूमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूमा ४० करोड ७७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा राखिनेछ। यो लगानी १४ अक्टोबर २०२५ देखि १४ अक्टोबर २०२६ सम्म ३६६ दिनका लागि गरिनेछ।
लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले केही महत्वपूर्ण शर्तहरू पूरा गर्नुपर्नेछ। ती शर्तहरूमा कम्तीमा दुई वर्ष सञ्चालनमा आएको हुनुपर्ने, राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमाभित्र रहेको हुनुपर्ने, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्ने लगायत छन्।
यसका अतिरिक्त, निक्षेप लिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको भए, त्यस्तो जरिवाना गरिएका व्यक्ति संस्थामा कायम नरहेको हुनुपर्ने वा जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्नेछ। यदि कुनै संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, सो फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।
साथै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने, यदि भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने शर्त पनि राखिएको छ।
निक्षेपमा रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले असोज १० गतेभित्र नेपाल राष्ट्र बैंकमा आफ्नो ब्याजदर प्रस्ताव पठाउनुपर्नेछ। यस लगानीले वित्तीय बजारमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ।




