कांग्रेस सुधारका लागि प्रदीप पौडेलको जन-जागरण अभियान: ‘जेनजी आन्दोलन’ को राप र युवा पुस्ताको आवाज

काठमाडौं । नेपाली कांग्रेसभित्र ‘जेनजी आन्दोलन’ ले ल्याएको तरङ्ग र युवा पुस्ताको तीव्र असन्तुष्टिले नयाँ बहस सिर्जना गरेको छ। यही पृष्ठभूमिमा कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले पार्टीको समग्र सुधारका लागि देशव्यापी सुझाव सङ्कलन अभियान थालेका छन्। सामाजिक सञ्जालमा व्यक्त जनभावना र नेता–कार्यकर्ताको गुनासोलाई नजिकबाट नियालेका पौडेलले अब यसलाई संस्थागत रूपमा पार्टीको केन्द्रीय समितिमा पुर्‍याउने तयारी गरेका छन्।

‘जेनजी आन्दोलन’ पछि सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र सुझावको ओइरो लागेपछि पौडेलले यसलाई अझ व्यवस्थित बनाउन औपचारिक संवादको थालनी गरेका हुन्। उनले सातवटै प्रदेशका करिब ५० क्षेत्रीय सभापतिहरूसँग यस विषयमा छलफल गरिसकेका छन्।

क्षेत्रीय सभापतिहरूको एकमत: रुपान्तरण र पुस्तान्तरण अपरिहार्य

पौडेलसँगको संवादमा सहभागी क्षेत्रीय सभापतिहरूले पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आत्मआलोचनासहितको सुधार आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले पौडेलले अघि सारेको ‘पार्टी रुपान्तरण तथा पुस्तान्तरण’ को अवधारणालाई खुलेर समर्थन गरेका छन्। बैठकमा सहभागी २६ क्षेत्रीय सभापतिले कांग्रेसले अबको समयमा आफूलाई आमूल परिवर्तन नगरे अस्तित्वमै खतरा आउन सक्ने चेतावनी दिएका थिए। उनीहरूको साझा धारणा थियो– “पार्टीले युवाको आवाज सुन्नैपर्छ, पुराना ढर्रा छोडेर नयाँ विचार र ऊर्जाका साथ अघि बढ्नुपर्छ।”

पौडेलको प्रतिबद्धता: जनभावना समेटेर दस्तावेज तयार गरिने

नेता पौडेलले आगामी केही समय निरन्तर सुझाव सङ्कलन कार्य जारी राख्ने बताएका छन्। उनले नेता–कार्यकर्ताका साथै आम नागरिक र विज्ञहरूसँग पनि छलफल गरी प्राप्त सुझावहरूलाई एकताबद्ध गरी विस्तृत दस्तावेजका रूपमा केन्द्रीय समितिमा प्रस्तुत गर्ने योजना बनाएका छन्। “म पार्टी सुधारको पक्षमा दृढताका साथ उभिएको छु,” पौडेलले भने, “जनता र कार्यकर्ताको भावनालाई समेटेर पार्टीलाई नयाँ दिशा दिने मेरो प्रयास रहनेछ।”

परिवर्तित समयमा नेपाली कांग्रेसमा रुपान्तरणको आवश्यकता छ भन्ने आम बुझाइ बनिरहेका बेला पौडेलको यो अभियानले पार्टीभित्र एउटा नयाँ बहस र जागरण ल्याउने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री