मुग्लिन-नारायणगढको पहिरो पन्छाउन समय लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न सूचना

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला नजिकै खसेको सुख्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । मंगलबार दिउँसो ४:५० बजेतिर खसेको विशाल पहिरो पन्छाउन आज दिनभर लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

पहिरोका कारण सडक आवागमन ठप्प भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयका अनुसार, नौबिसे-दामन-हेटौँडा र मुग्लिन-भिमाद-डेढगाउँ-गैँडाकोट (कालीगण्डकी करिडोर) हुँदै गन्तव्यमा पुग्न सकिनेछ ।

पहिरो खसेलगत्तै सडक खुलाउने प्रयास भइरहे पनि पहिरोको आकार ठूलो भएकाले थप समय लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले आज दिनभरजसो पहिरो पन्छाउने कार्य जारी रहने जानकारी दिएको छ ।

यस सम्बन्धमा थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाल (मो. ९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (मो. ९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्य (मो. ९८५५०९२२१८) लाई सम्पर्क गर्न सकिनेछ ।

यात्रुहरूलाई धैर्यधारण गरी वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री