काठमाडौं । नेपाली कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको मागले तरंग ल्याएको छ । पार्टीभित्रको आन्तरिक किचलो र नेतृत्व परिवर्तनको चर्को दबाबका बीच नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको अगुवाइमा विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन अभियान सुरु भएको छ । सोमबारसम्म १०९ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् भने यो अभियानलाई देशभर विस्तार गर्ने तयारी छ ।
नेपाली कांग्रेसको विधानको धारा १७ (२) ले केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशतले माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ । २०७८ सालको महाधिवेशनमा कुल ४७४३ प्रतिनिधिमध्ये १८९७ जनाको हस्ताक्षर आवश्यक पर्नेछ । यो आँकडा पुर्याउन शेखर-गगन समूह सक्रिय देखिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा सैनिक अस्पतालमा उपचाररत रहेका बेला उनीमाथि ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को दबाब बढेको छ । हालै बूढानीलकण्ठस्थित निवासमा भएको प्रदर्शनमा घाइते भएका देउवाले नेताहरूलाई ‘असजिलो परिस्थितिमा सहयोग गर्न’ आग्रह गरे पनि असन्तुष्ट पक्ष उनको नेतृत्व परिवर्तनको पक्षमा उभिएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीले नेतृत्व परिवर्तनको पक्षमा बहुसंख्यक आवाज उठिसकेको र विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै तय गर्ने बताइन् ।
अर्कोतर्फ, सभापति देउवा पक्ष विशेष महाधिवेशन टार्ने र आफ्नो कार्यकाल एक वर्ष थप्ने रणनीतिमा जुटेको बताइएको छ । फागुनको प्रतिनिधिसभा चुनावसम्म नेतृत्व यथावत राख्ने र टिकट वितरणदेखि पार्टी सञ्चालनसम्म नियन्त्रण कायम राख्ने देउवा पक्षको मनसाय देखिन्छ । यसै कारण शेखर-गगन समूहले विधानमै टेकेर विशेष महाधिवेशनका लागि दबाब बढाउन हस्ताक्षर अभियान सुरु गरेको हो ।
पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि कार्यकाल सकिएपछि नियमित महाधिवेशन गर्ने भन्ने बहस पनि जारी छ । महाधिवेशन प्रतिनिधि भूपेन्द्रजंग शाहीले मंसिरमा कार्यकाल सकिने भएकाले नियमित महाधिवेशन नै उपयुक्त हुने धारणा राखेका छन् । यद्यपि, नेता शेखर कोइरालाले केन्द्रीय समिति बैठक बसेर साझा धारणा बनाउनुपर्नेमा जोड दिएका छन् । यसले कांग्रेसभित्र आउने दिनमा नेतृत्व र नीतिगत विषयमा थप रस्साकस्सी हुने संकेत दिएको छ ।




