काठमाडौं । तुइन खोलामा पुनः पहिरो खस्दा यातायात अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। शुक्रबार साँझ ठूलो पहिरो खसेपछि तीन दिन यातायात अवरुद्ध भएको थियो । पहिरो पन्छाएर हिजो साँझबाट यातायात सुचारु गरिएकोमा सोही ठाउँमा आज बिहान फेरि पहिरो झरेको हो ।
पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
यता, पहिरो खस्दा पृथ्वी राजमार्ग पनि गएरातिदेखि नै अवरुद्ध छ। धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु–मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएका हुन्।
सडकमा सवारी चालकले सवारी साधन अव्यवस्थित तबरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको भन्दै कार्यालयले लेन अनुशासनको पालना गर्न पनि चालकहरूलाई अनुरोध गरेको छ।




