काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज देशभरका दसैँ घर तथा पूजा कोठाहरूमा नौ दुर्गामध्येकी दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरू यतिबेला शक्ति र भक्तिको विशेष माहोलमा लीन भएका छन् ।
नवरात्रको पहिलो दिन सोमबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन नौ दुर्गामध्येकी प्रथम देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । आज भने भक्तजनहरूले पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी श्रद्धापूर्वक पूजा अर्चना गरिरहेका छन् ।
संसारका मुमुक्षु प्राणीहरूलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । उहाँको स्वरूपमा हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने धार्मिक विधान रहेको छ । ब्रह्मचारिणी देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
नवरात्रको सुरुवातसँगै देशभरका शक्तिपीठहरूमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ । राजधानीलगायत देशका विभिन्न शक्तिपीठहरूमा सोमबारदेखि नै दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको छ । शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरी धार्मिक अनुष्ठानहरू भइरहेका छन् ।
यस वर्षको नवरात्र पर्वमा पनि भक्तजनहरूले नौ दिनसम्म भक्तिपूर्वक देवीको आराधना गरी विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म प्रसाद स्वरूप टीका र जमरा लगाउनेछन् ।




