काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह र सुझावलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मन्त्री पदको शपथग्रहणपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पुनले विज्ञ समुदायबाट प्राप्त हुने उत्कृष्ट र व्यवहारिक सुझावहरूलाई द्रुत गतिमा कार्यान्वयन गर्ने जानकारी दिए । उनका अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन र व्यवहारिक अनुसन्धान नै उनको कार्यकालका मुख्य प्राथमिकताका क्षेत्रहरू हुनेछन् ।
“अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु,” उनले भने, “सुझाव दिन त राम्रो, नराम्रो सबै आउँछ। जो-जो राम्रो आउँछन्, राम्रा मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो-छरितो कार्यान्वयन गर्ने काम हुन्छ।”
उनले आफूलाई “किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएकाले” तत्काल कुनै विशेष योजना नभएको र योजना निर्माण विज्ञहरूसँगको परामर्शपछि मात्र हुने स्पष्ट पारे। मन्त्री पुनको यो भनाइले उनी हतारमा कुनै निर्णय नगरी, गहन छलफल र विश्लेषणपछि मात्र नीतिगत कदम चाल्ने मनसायमा रहेको बुझिन्छ।
यसअघि प्रविधि र नवप्रवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका महावीर पुनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा यस क्षेत्रमा नयाँ सोच र प्रविधिमैत्री वातावरणको अपेक्षा गरिएको छ । उनको नेतृत्वमा शिक्षा प्रणालीमा वैज्ञानिक र व्यवहारिक सुधार आउने विश्वास गरिएको छ ।




