काठमाडौं । काभ्रेको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेर सन्तबहादुर तामाङ नख्खु कारागार फर्किएको खुलेको छ।
उनले श्रीमतिको हत्या पछि शवलाई खाल्डोमा पुरेर पुनः कारागारमा फर्किएको प्रहरीले जानकारी दिएको छ । उनले श्रीमति मनिषा घ्यावा तामाङलाई हत्या गरेको पुष्टि भएको हो ।
प्रहरीका अनुसार असोज २ गते राति श्रीमतीसँगको झगडामा तामाङले कुटपिट गर्दा मनिषाको मृत्यु भएको हो । श्रीमतीको शवलाई घर नजिकै करेसा बारीमा खाल्डो खनी पुरिएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कोमल शाहका अनुसार, तामाङको हत्यापछि कारागार फर्किनुको कारणलाई आरोपबाट जोगिन भनेर आशंका गरिएको छ । जेनजी आन्दोलनमा कारागार तोडफोड र आगजनीको बीचमा तामाङ पनि जेलबाट भागेका थिए ।
उनी जबरजस्ती करणीका आरोपमा कारागारमा सजाय भोगिरहेका थिए । तामाङको कैद सजाय पूरा हुन एक महिना मात्र बाँकी थियो । अहिले तामाङमाथि कर्तव्य ज्यानको मुद्दामा थप अनुसन्धान गर्न थालिएको छ ।
प्रहरीले लाशको उत्खनन गरी फोरेन्सिक मेडिसिन विभागको विशेषज्ञ डाक्टरको टोलीसँग अनुसन्धान प्रक्रिया अघि बढाएका छन् । मृतकको शवलाई पोष्टमार्टमका लागि धुलिखेल ल्याइएको छ ।




