दशैँमा उपभोक्तालाई झट्का: खाद्य कम्पनीले खसीबोका नबेच्ने

काठमाडौँ । बडा दशैँ नजिकिँदै गर्दा उपभोक्ताहरूलाई ठूलो झट्का लागेको छ। हरेक वर्ष सुपथ मूल्यमा खसीबोका र च्यांग्रा उपलब्ध गराउँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष बिक्री नगर्ने भएको छ। राजनीतिक अस्थिरता र सडक अवरोधलाई मुख्य कारण देखाउँदै कम्पनीले खरिद प्रक्रिया रद्द गरेको हो।

कम्पनीले यस वर्ष १८ सय खसीबोका र च्यांग्रा उपत्यकामा ल्याएर बिक्री गर्ने योजना बनाएको थियो। यसका लागि अनलाइन बुकिङसमेत खुला गरिएको थियो। तर, २० वटा बुकिङ भएलगत्तै कम्पनीले सबै बुकिङ रद्द गरी बिक्री प्रक्रिया स्थगित गरेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए।

मिश्रका अनुसार, “राजनीतिक अस्थिरता र विभिन्न ठाउँमा भएका बाटो अवरुद्धले पनि यस पटक खसीबोका र च्यांग्रा बिक्री नगर्ने निर्णय भएको हो।” यस निर्णयले दशैँमा मासुको जोहो गर्ने उपभोक्ताहरूलाई प्रत्यक्ष असर पर्ने देखिएको छ। बजारमा निजी व्यवसायीहरूले खसीबोकाको मूल्य बढाउन सक्ने चिन्ता पनि बढेको छ।

हरेक वर्ष दशैँमा बजार मूल्य नियन्त्रण गर्न र उपभोक्तालाई राहत दिन खाद्य कम्पनीले सुपथ मूल्यमा खसीबोका बिक्री गर्दै आएको थियो। यो वर्ष कम्पनीको अनुपस्थितिमा बजारमा मासुको मूल्य अझ अकासिने सम्भावना बढेको छ। यसले गर्दा दशैँ मनाउने तयारीमा रहेका सर्वसाधारणलाई थप आर्थिक भार पर्ने निश्चित भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप