नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो, आइतबार साँझदेखि सवारी आवागमन सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा गएको पहिरो हटाई सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। गत शुक्रबारदेखि पूर्णरुपमा अवरुद्ध रहेको यो महत्वपूर्ण राजमार्ग आइतबार अपरान्ह सवा ४ बजेदेखि एकतर्फी रुपमा सुचारु भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रतीक सिंहले दिएको जानकारी अनुसार, शुक्रबार खसेको विशाल पहिरोले सडक पूर्ण रुपमा बन्द भएपछि यात्रु तथा मालबाहक सवारी साधनहरु अलपत्र परेका थिए। दुई दिनसम्मको निरन्तर प्रयासपछि आज बिहान ४ बजेदेखि नारायणगढ र मुग्लिन दुवैतर्फबाट मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो।

पहिरो पन्छाउने कार्य जटिल र चुनौतीपूर्ण भए पनि सडक विभाग र सुरक्षाकर्मीको अथक प्रयासले अन्ततः सडक खुलाउन सम्भव भएको छ। एकतर्फी रुपमा सवारी सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लाग्न थालेका छन्। यद्यपि, दुई दिनको अवरोधका कारण सवारीको चाप धेरै भएकाले यात्रामा केही ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड राजधानीलाई तराई र देशका अन्य भागसँग जोड्ने प्रमुख मार्ग भएकाले यसको अवरोधले जनजीवन र अर्थतन्त्रमा ठूलो प्रभाव पार्दै आएको छ। सडक सञ्चालनमा आएसँगै दशैं नजिकिँदै गर्दा यात्रा गर्ने यात्रुहरूलाई ठूलो राहत मिलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री