देशका ७ ठाउँमा सडक अवरुद्ध, जनजीवन प्रभावित; बीपी राजमार्गमा रात्रिकालीन सवारी बन्द

काठमाडौं । देशभर मनसुनको प्रभाव अझै सक्रिय रहँदा विभिन्न स्थानमा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने क्रम जारी छ। नेपाल प्रहरीका अनुसार आज पनि देशका सात प्रमुख स्थानमा सडक आवागमन पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ, जसले यात्रु र ढुवानीमा समस्या उत्पन्न गरेको छ।

जाजरकोट–डोल्पा खण्ड पूर्ण अवरुद्ध: आज बिहान जाजरकोटको नलगाड नगरपालिका–११, भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खस्दा यस खण्ड भएर हुने आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।

म्याग्दी बेनी–दरवाङ खण्ड पनि अवरुद्ध: प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार म्याग्दीको बेनी–दरवाङ खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान ५ः२५ बजे बेनी नगरपालिका–४, घुमाउने भिरमा लेदो र माटोसहितको पहिरो खसेर सडक बन्द भएको हो।

चितवनको मुग्लिङ–नारायणगढ खण्ड दुई दिनदेखि ठप्प: देशको मुख्य राजमार्गमध्ये एक, चितवनको मुग्लिङ–नारायणगढ खण्डको तुइन खोलामा गएको असोज ३ गते साँझ ६ः२५ बजेदेखि सुख्खा पहिरो खसेपछि सडक दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ।

प्रहरी नायब महानिरीक्षक घिमिरेका अनुसार उक्त स्थानमा पटकपटक पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ। उनले भने, ‘उक्त खण्डमा पटकपटक पहिरो जाने समस्या छ। शुक्रदेखि निरन्तर खसेको पहिरो पन्छाउने क्रम जारी रहेकाले आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउने प्रयासमा छौँ। माथिबाट पहिरो खस्न पनि रोकिएको छैन।’

रसुवाको मितेरी पुलमा क्षति, नेपाल–चीन नाका प्रभावित: बाढीका कारण रसुवास्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा क्षति पुगेपछि सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्थित उक्त पुलमा क्षति पुगेपछि सवारीसाधन आवतजावत बन्द भएको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए।

अन्य स्थानमा पनि सडक अवरुद्ध: त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित जाजरकोट–डोल्पा खण्ड (भेरी करिडोर) पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ। भोटेकोशीको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण अवरुद्ध रहेको प्रवक्ता घिमिरेले बताए।

बीपी राजमार्गमा रात्रिकालीन सवारी बन्द: मनसुन अवधिभर वर्षात्का कारण विपद्को घटना हुन नदिनका लागि बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा भाडाका सवारीसाधन आवागमनमा रोक लगाइएको हो। अन्य निजी सवारीसाधन भने सञ्चालनमा रहने प्रहरीले जनाएको छ।
आज पनि सडक अवरुद्ध भएका मुख्य स्थानहरूमा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सावधानी अपनाउन आग्रह गरिएको छ। सडक खुलाउने कार्य जारी रहे पनि निरन्तरको वर्षा र पहिरोका कारण समस्या भइरहेको अधिकारीहरूले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री