काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जेनजी आन्दोलन’बाट सिर्जित परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति तथा समूहले पार्टी र यससँग आबद्ध व्यक्तिहरूलाई बदनाम गराउने प्रयास गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले यस्ता गतिविधिमा संलग्न जोकोहीमाथि आवश्यक छानबिन गरी कारबाहीको माग गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै केही व्यक्ति तथा समूहले रास्वपा र यससँग सम्बन्धित व्यक्तिहरूको नाम लिएर विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालयका पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास र धम्की देखाउँदै टेलिफोन तथा सन्देश पठाएको जानकारी पार्टीमा आएको उल्लेख गरेका छन् ।
प्रवक्ता झाका अनुसार, यस्ता गतिविधिमा रास्वपाको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै, यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’





