काठमाडाैँ । उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ। सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो।
आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालका अनुसार आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको हो,” फुँयालले भने।
कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३/२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ।
‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी आउने तर जलाशययुक्त आयोजनामा भने जुनसुकै समयमा पनि समस्या नहुने उनले बताए।
आयोजनाबाट विद्युत् उत्पादन यथावत हुन वैशाख महीनाको अन्तिमसम्म लाग्ने जनाइएको छ। फागुन चैतमा वायुमण्डलको तापक्रम बढेर हिमाल पग्लिएपछि पानीको बहाव बढेर विद्युत् उत्पादनमा वृद्धि हुन्छ।




