काठमाडौँ । नेपालीहरूको महान् चाड विजयादशमी र तिहार नजिकिएसँगै राजधानी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको चहलपहल ह्वात्तै बढेको छ। दशैं मनाउन घर फर्किनेको घुइँचो लाग्न थालेपछि बसपार्क क्षेत्रमा चाडपर्वको रौनक देखिन थालेको छ।
यस वर्षको दशैंअघि नै त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पसहरूमा जेनजी समूहले भदौ २३ र २४ गते गरेको प्रदर्शनका कारण पठनपाठन अवरुद्ध भएपछि काठमाडौँमा अध्ययनरत हजारौं विद्यार्थीहरू गृहजिल्ला फर्कन थालेका छन्। यसले गर्दा अग्रिम टिकट बुकिङ खुल्नुअघि नै बसपार्कमा यात्रुको चाप बढेको हो।
नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार अहिले दैनिक १२ देखि १५ हजार यात्रु बसपार्कबाट बाहिरिरहेका छन्, जुन सामान्य अवस्थामा दैनिक चारदेखि पाँच हजार मात्र हुने गर्दथ्यो। जेनजी प्रदर्शनपछि सार्वजनिक यातायात सञ्चालनमा आएसँगै उपत्यका छोडेर गृहजिल्ला जाने विद्यार्थीसहित यात्रुको सङ्ख्या ६५ हजारभन्दा बढी पुगिसकेको उनले जानकारी दिए।
यसैबीच, यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवाला निकायको बैठकले यस वर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ। यसले गर्दा यात्रुहरूले सिधै बसपार्कबाट टिकट काटेर यात्रा गर्नुपर्नेछ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेदेखि नै यात्रुको भीड लाग्न थालेकाले यस वर्ष दशैंमा काठमाडौँबाट घर फर्किने यात्रुको सङ्ख्यामा कमी आउन सक्ने अनुमान गरेका छन्। प्रदर्शनका कारण विद्यार्थीहरू पहिल्यै घर फर्किसकेकाले दशैंको मुख्य भीड कम हुने उनको भनाइ छ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात सेवा उपलब्ध छ। सरकारले दशैंका यात्रुको सुविधाका लागि असोज ६ गते (घटस्थापना) देखि असोज २२ गतेसम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको छ। यसबाट यात्रुहरूलाई यात्रा गर्न थप सहज हुने अपेक्षा गरिएको छ।




