काठमाडौं । विगत २४ घण्टामा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वीनवलपरासी (नवलपुर) को देउरालीमा सबैभन्दा धेरै १०९.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, भने सुर्खेतको गोठीकाँडामा १०१.४ मिलिमिटर वर्षा मापन भएको छ ।
विभागले जनाएअनुसार सुर्खेतकै जम्मुमा ६२.४ मिलिमिटर, पाल्पाको अर्चलेमा ७८.२ मिलिमिटर, कैलालीमा ६६.२ मिलिमिटर, अर्घाखाँचीमा ५०.४ मिलिमिटर र चितवनको गोविन्दबस्तीमा ५५.८ मिलिमिटर वर्षा भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेपनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालभर वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन् ।
आज पनि देशभर आंशिकदेखि पूर्ण बदली रहने र कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । यसैगरी गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूस्खलन र नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्दा र नदी किनारमा बस्दा विशेष सावधानी अपनाउनु उपयुक्त हुनेछ ।




