देउवा दम्पतीमाथिको आक्रमणको निन्दा गर्दै सुदूरपश्चिम कांग्रेसले भन्यो- ‘लोकतन्त्र विरोधीको घुसपैठ’

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसपछिको मुलुकको वर्तमान अवस्थालाई गम्भीरतापूर्वक लिँदै सबैलाई एकजुट भएर पुनर्निर्माणमा लाग्न हार्दिक अपिल गरेको छ । मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको बैठकले यो महत्त्वपूर्ण अपिल जारी गरेको हो ।

बैठकले युवा पुस्ताले उठाएका भ्रष्टाचारमुक्त समाज निर्माण र भ्रष्टाचारीमाथि कडा कारबाहीको मागलाई ‘जायज’ ठहर गर्दै त्यसलाई तत्काल सम्बोधन गर्न प्रदेश र संघीय सरकारसँग जोडदार आग्रह गरेको छ । जेनजी आन्दोलनको मूल मर्मलाई आत्मसात् गर्दै अघि बढ्न सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

यसैबीच, संसदीय दलले पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस नेतृ डा. आरजु राणा देउवामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । दलको ठहरअनुसार, जेनजीको शान्तिपूर्ण प्रदर्शनमा लोकतन्त्र विरोधी, संविधान विरोधी र नेपाली कांग्रेसलाई कमजोर बनाउन चाहने समूहले घुसपैठ गरी यो नियोजित आक्रमण गराएको हो । दलले देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस निन्दनीय कार्यमा संलग्न दोषीहरूलाई तत्काल पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका हत्या, हिंसा, आगजनी, लुटपाट र तोडफोडजस्ता जघन्य घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन पनि संसदीय दलले प्रदेश र संघीय सरकारसँग माग गरेको छ । जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो, जसमा सुदूरपश्चिम प्रदेशका मुख्य सरकारी कार्यालयहरू पनि अछुतो रहन सकेनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री