काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन नेपाली सुनचाँदी बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार अघिल्लो कारोबार दिन सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार ९०० रुपैयाँको वृद्धि भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च बिन्दु हो । सोमबार चाँदी प्रतितोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो । यसरी एकै दिनमा चाँदीको मूल्यमा पनि प्रतितोला ३२० रुपैयाँको वृद्धि भएको छ ।
विशेषगरी चाडपर्व र विवाहको सिजन नजिकिँदै गर्दा उपभोक्ताहरू महँगो सुन किन्न बाध्य हुनेछन् । यसले बजारमा सुनचाँदीको कारोबारको ढाँचामा परिवर्तन ल्याउन सक्ने व्यवसायीहरूको अनुमान छ ।




