पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, हामी पुनः उठ्ने छौँ : चन्द्रागिरि हिल्स

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवर्द्धनको सपना नटुटेको बताएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले यस्तो बताएको हो ।

कम्पनीले भदौ २३ गते सोमबार जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परि जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

जेन९जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति सम्मान र साझा उद्देश्य रहेको कम्पनीले बताएको छ ।

सोही आन्दोलनका क्रममा सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको चन्द्रागिरि केबलकारमा समेत ठुलो क्षति भएको थियो ।

विज्ञप्तिमा लेखिएको ‘हामी सबैलाई थाहा छ, चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन। यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ सेयर धनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।’

कम्पनीले प्रदर्शनकै क्रममा मङ्गलवार अन्य ठाउँहरूमा जस्तै चन्द्रागिरि हिल्समा समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केबलकारको बटम स्टेसनमा ठुलो क्षति पुगेको जानकारी दिएको छ । यद्यपि, कम्पनीको अठोट कमजोर नभएको र गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा कति पनि विचलित नभएका उक्त विज्ञप्तिमा बताइएको छ ।

‘हामी पुनः उठ्ने छौँ र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौँ । हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौँ । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षा सहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौ ।’

कम्पनीले यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति क्षमा मागेको छ भने स्थानीय, समुदायको सहयोग र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री