काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभर मनसुनी वर्षाको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीको प्रभावले मुलुकभर सामान्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज बिहान कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा रेकर्ड गरिएको छ ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली कायम रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । यसका साथै, कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले थप सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा कमजोर भिरालो जमिनमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।




