काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालैको ‘भदौ २३’ घटनालाई लिएर युवा पुस्ताप्रति गहिरो सहानुभूति व्यक्त गर्दै आफ्नो असफलताका लागि माफी मागेका छन् । एक भिडिओ सन्देशमार्फत उनले युवाहरूको आक्रोश र निराशालाई स्वीकार गर्दै न्याय, जवाफदेहिता र संवैधानिक दायराभित्र रहेरै परिवर्तनको आह्वान गरेका छन् ।
महामन्त्री थापाले विशेषगरी भदौ २३ गते १९ जना युवाको ज्यान गएको घटनालाई ‘अपराध’को संज्ञा दिँदै यसको जिम्मेवारीका लागि सार्वजनिक रूपमा क्षमा याचना गरे । ‘यो भनिरहँदा मलाई चिच्याउन मन लाग्छ,’ उनले भने, ‘किनकि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दादेखि नै मैले यसको विरोध गरेको थिएँ। ‘
उनले तत्कालीन प्रधानमन्त्री र पार्टी सभापतिलाई भेटेरै सामाजिक सञ्जाल बन्द नगर्न अनुरोध गरेको तर सुनुवाइ नभएको गुनासो गरे । उनले युवाको आगोमा घिउ नथप्न आग्रह गर्दागर्दै पनि ठूलो घटना भएकोमा पश्चात्ताप व्यक्त गरे । थापाले सन्देशमा युवाहरूको आक्रोश जायज भएको बताएका छन् । उनले २० वर्षअघिको ६२/६३ को आन्दोलनमा आफू पनि युवा अवस्थामै रहेको र त्यसबेलाको अनुभवका आधारमा अहिलेका युवाहरूको फ्रस्ट्रेशन र आक्रोश बुझ्ने बताए । उनले आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न नसकेकोमा माफी पनि मागेका छन् ।
उनले आफ्नो व्यक्तिगत पीडा पनि साझा गरे । उनले बताए कि भदौ २४ गते उनको घरमा नाराबाजी र ढुङ्गामुढा भयो। पछि मास्क लगाएका केही व्यक्तिहरूले घरमा आगजनी गर्ने प्रयास गर्दा आफ्नो परिवार, विशेषगरी बुवा-आमा, कान्छा बुवा, छोरीहरू र श्रीमतीलाई पछाडिको बाटोबाट सुरक्षित रूपमा बाहिर निकाल्नुपरेको थियो । उनको बाल्यकाल बितेको र बुवा-आमाले सानो-सानो कोठा थपेर बनाएको घर ध्वस्त हुँदा उनलाई दुःख लागेको बताए । तर, उनले तुरुन्तै भदौ २३ मा मारिएका १९ युवाका परिवारको पीडा सम्झेर आफ्नो दुःखलाई गौण बनाएको उल्लेख गरे ।
महामन्त्री थापाले युवा पुस्ताले उठाएका मुद्दाहरूमा आफ्नो पूर्ण समर्थन रहेको बताए। उनले भदौ २३ को हत्याकाण्डको छानबिन र दोषीलाई सजाय हुनुपर्ने, २०४६ सालपछिका भ्रष्टाचारका सबै काण्डको छानबिन हुनुपर्ने, र अख्तियार जस्ता संस्थाहरूलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्ने मागमा आफ्नो पनि लामो समयदेखि आवाज उठाउँदै आएको कुरा दोहोर्याए । उनले मन्त्री बन्न अस्वीकार गरेको र दलको नेतामा उम्मेदवारी दिएको प्रसंग पनि उल्लेख गर्दै आफूभित्रैबाट परिवर्तनको लागि संघर्षरत रहेको बताए । उनले ‘तीन जना बुढा नेताहरू हटाउनुपर्छ, यिनीहरूबाट चल्दैन’ भन्ने विचारसँग पनि आफू सहमत रहेको स्पष्ट पारे ।
उनले देशमा अहिले एउटा ‘भ्याक्युम’ को अवस्था रहेको र यसलाई संवैधानिक बाटोबाटै समाधान गर्नुपर्नेमा जोड दिए । उनले संविधान निर्माणको प्रक्रिया सरल नभएको र यसका लागि गृहयुद्ध, जातीय द्वन्द्व, आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम लगायतका विभिन्न समुदायका मागहरूलाई मिलाएर सन्तुलन खोजिएको स्मरण गराए । थापाले अहिलेको संविधानको निरन्तरतामा जोड दिँदै यसभित्र रहेरै बोल्ड सुधारहरू गर्नुपर्ने आवश्यकता औंल्याए । उनले संविधानभन्दा बाहिर गएर समाधान खोज्ने प्रयासले फेरि अर्को द्वन्द्व निम्त्याउन सक्ने र युवा पुस्ताको भविष्य खतरामा पर्न सक्ने चेतावनी दिए ।
महामन्त्री थापाले आफ्नो पार्टी नेपाली कांग्रेसलाई जगैदेखि बदल्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू र आफ्नो पुस्ताबाट भएका गल्ती-कमजोरीका लागि पुनः माफी माग्दै सुध्रने वाचा गरे । उनले युवाहरूलाई विश्वास दिलाउँदै उनीहरू नै देशको भविष्य भएको र उनीहरूले नेतृत्व सम्हाल्ने अवस्था आएमा आफू ‘ब्याक बेन्च’मा बसेर पार्टी सुधारमा लाग्ने बताए ।
महामन्त्री थापाले युवा साथीहरू र उनीहरूको कलेजलाई स्याम्पुट गर्दै यति ठूलो लडाइँ लडेकोमा धन्यवाद दिए । उनले अहिलेको अवस्थालाई सम्हाल्दै गल्ती गर्नेलाई कारबाही गर्ने र सबैलाई समेटेर अघि बढ्ने बताए । उनले सबै नेपालीलाई संयमित र धैर्यवान भई सोच्न आग्रह गर्दै देशको भूराजनीतिक संवेदनशीलता र आन्तरिक विविधतालाई मध्यनजर राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।




