जेनजी प्रदर्शनमा घाइतेको उपचारको लागि आर्थिक र भौतिक सहयोग गर्न ऊर्जा उद्यमीलाई इप्पानको आह्वान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जेनजी प्रदर्शनमा घाइते भएकाहरुको उपचारमा आर्थिक तथा भौतिक सहयोगका लागि सबै ऊर्जा उद्यमीहरुलाई आह्वान गरेको छ । अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले वक्तव्य जारी गर्दै घाइते जेनजीको उपचारमा सहयोगको लागि अपिल गरेको हो ।

‘यही भदौ २३ गते २८ वर्षमुनिका युवाहरु (जेनजीं)ले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा देशभर १९ जना किशोर किशोरीहरुको ज्यान जानुका साथै सयौंको संख्यामा घाइते र अंगभङ्ग हुने गरी सरकारले गरेको निर्मम र बर्बर दमनको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) घोर निन्दा र भत्सर्ना गर्दछ’, इप्पानले भनेको छ।

३ हजार मेगावाट भन्दा बढी ऊर्जा उत्पादन र ५ हजार मेगावाट क्षमताका आयोजनाको निर्माणमा सक्रिय इप्पानमा आवद्ध ऊर्जा उद्यमीहरुले राज्यलाई वर्षेनी साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित विभिन्न शीर्षकमा १०औं अर्बभन्दा बढी कर तिर्दै आएको उल्लेख गर्दै इप्पानले जनाएको छ। ऊर्जा आयोजनाको अध्ययन, निर्माण र सञ्चालनमा लाखौ नेपालीलाई रोजगारी दिइरहेको ऊर्जा क्षेत्रले ऊर्जा र पूर्वाधार क्षेत्रको थप विकास होस भनेर राज्यलाई अरबौ रकम कर तिर्दै आए पनि राज्य सञ्चालक र संवैधानिक निकायले स्वतन्त्र नियमन गर्नुको साटो सिमित व्यक्तिहरुको स्वार्थमा काम गर्ने, विकास निर्माणका कामहरु वर्षौसम्म अड्काएर नागरिकलाई निराश पार्ने, भ्रष्टाचार, वेथिती, कुशासनका साथै देशको समृद्धिको मुख्य आधार मानिएको ऊर्जा क्षेत्र लगायतका अन्य क्षेत्रमा समेत राज्यका धेरैजसो निकायहरुबाट निरन्तर एकपछि अर्को प्रहार गरिँदा युवापुस्तामा देखिएको चरम निराशा सडकमा पोखिएको इप्पानले ठहर गरेको छ।

‘राजा ज्ञानेन्द्रको प्रतक्ष निरंकुश शासनकाल २०६२÷६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजाले लोकतन्त्र फिर्ता गरेको स्मरण गराउँदै लोकतान्त्रिक सरकारले जेनजी पुस्ताको आन्दोलनमा एकै दिन १९ जनाको ज्यान जाने गरी धरपकड गर्नु निकै खेदजनक रहेकोले प्रहरीबाट निर्ममतापूर्वक भएको यो हदसम्मको घातक बल प्रयोगको इप्पान कडा शब्दमा निन्दा गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘भ्रष्टाचार अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि शान्तिपूर्ण प्रदर्शन गर्न गएको किशोर किशोरीहरुको समूहलाई राज्यबाट हदैसम्मको दमन गरी राज्यले नै संविधानको उल्लंघन गरेको हाम्रो ठहर छ।’

किशोरकिशोरीबाट कुनै गैरकानुनी कार्य हुन लाग्दा नियन्त्रणमा लिने अरु उपाय हुँदा हुँदै सिधै गोली हान्ने आदेश दिनु नै खेदजनक भएको इप्पानले उल्लेख गरेको छ।

इप्पानले सबै प्रदर्शनकारीहरूलाई थप हानि हुनबाट बचाउनका निम्ति सरकारसँग माग गरेको छ।

प्रदर्शनकारीले उठाएका भ्रष्टाचार अन्त्य गर्ने, जवाफदेहिता प्रदान गर्ने र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने जस्ता वैध मागहरूलाई सरकारबाट यथोचित सुनुवाइका लागि पनि इप्पानको माग छ।

‘सरकारले गरेको दमनपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजिनामा गर्नु एउटा पाटो हो । तर यतिले मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन’, इप्पानले भनेको छ, ‘यस घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री