Gen Z ले च्यात्यो प्रधानमन्त्री ओलीको फोटो

काठमाडौं । भ्रष्टाचार, कुशासन र अभिव्यक्ति स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेपविरुद्ध युवा पुस्ता (जेन-जी) सडकमा उत्रिएको छ । माइतीघर मण्डलाबाट सुरु भई नयाँबानेश्वरतर्फ अघि बढेको यो स्वतःस्फूर्त प्रदर्शनले राजधानीको माहोल गर्माएको छ ।

प्रदर्शनकारीहरूले बबरमहलस्थित नेपाल टेलिकम कार्यालयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर च्यातेर आफ्नो आक्रोश व्यक्त गरेका छन् । रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने र सभ्य तथा जिम्मेवार भएर प्रस्तुत हुने प्रतिबद्धता जनाएका उनीहरुले प्रधानमन्त्री च्यातेका हुन् ।

सामाजिक सञ्जालमार्फत एकजुट भएका युवाहरूले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ,’ ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ,’ ‘कता हिँडेको ट्याक्स लुटेर ?’ र ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् । उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रभक्ति गीत गाएका छन् भने कतिपय विद्यार्थीहरू विद्यालय पोशाकमै प्रदर्शनमा सहभागी भएका छन् ।

प्रदर्शनकारीहरू नयाँबानेश्वर पुग्दा प्रहरीले सडकमा ब्यारिकेड राखेर उनीहरूलाई रोकेको छ । प्रदर्शनमा सहभागीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री