पोखरा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्की शाखाद्वारा आयोजित आठौं ईक्यान एजुकेसन फेयर पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । दुई दिनसम्म चलेको यो बृहत शैक्षिक मेलामा करिब पाँच हजार विद्यार्थी तथा अभिभावकहरूले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।
पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्वेटमा शनिबार सम्पन्न भएको उक्त मेलामा विद्यार्थीहरूले विभिन्न शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी लिने मौका पाए । समापन समारोहमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरालाई ‘पर्यटनको राजधानी’ का रूपमा मात्र नभई ‘शिक्षाको विशाल सम्भावना बोकेको सहर’ का रूपमा समेत विकास गर्न सकिने बताए । उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई सही गन्तव्यमा पुग्न मद्दत पुग्ने धारणा व्यक्त गरे ।
ईक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरेले जानकारी गराए अनुसार मेलामा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा लगायतका विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूका प्रतिनिधिहरूसहित ६५ भन्दा बढी स्टलहरू राखिएका थिए । मेलामा सहभागी विद्यार्थीहरूलाई करियर काउन्सिलिङ, भर्ना प्रक्रिया, भिसासम्बन्धी विस्तृत जानकारी र सम्बन्धित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्शको सुविधा उपलब्ध गराइएको थियो । यस प्रकारका मेलाहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक भविष्यको योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने गैरेले बताए ।




