काठमाडौं । धादिङस्थित काउले भाइनयार्ड रिसोर्ट प्रा.लि. ले सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले संस्थागत परामर्श सेवा प्रदायकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनी र क्यापिटलबीच भएको सम्झौतामा काउले भाइनयार्ड रिसोर्टका निर्देशक इन्द्रबिर महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम, मुक्तिनाथ क्यापिटलले कम्पनीलाई पूँजी संरचना व्यवस्थापनदेखि लिएर सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने सम्पूर्ण प्रक्रिया सम्म परामर्श र सहजीकरण गर्नेछ ।
सम्झौतामा रिसोर्टको प्रबन्धपत्रअनुसार पूँजी व्यवस्थापन, संरचना परिमार्जन, र सार्वजनिक निष्काशनको तयारीका महत्वपूर्ण पक्षहरू समेटिएको जानकारी अध्यक्षले दिएका छन् । उनले यस कदमले कम्पनीलाई शेयर निष्काशनमार्फत व्यापक लगानीकर्ता आकर्षित गर्न मद्दत गर्ने बताए ।
धादिङको शान्त र सुन्दर पहाडी क्षेत्रमा करिब पाँच हेक्टर क्षेत्रमा फैलिएको यो रिसोर्ट नेपालकै पहिलो अंगुरखेतीमा आधारित पर्यटन स्थल हो । कम्पनीले नेपालको वाइन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको छ । वाइनप्रेमी, प्रकृतिप्रेमी र विश्राम चाहने आगन्तुकका लागि रिसोर्टले वाइन टेस्टीङ, अंगुरबगैँचाको अवलोकन, स्थानीय परिकार, होम–स्टे र प्रकृतिसँग नजिक हुने सुविधा प्रदान गर्दै आएको छ ।
अध्यक्षका अनुसार रिसोर्ट केवल वाइन उत्पादनमा सीमित नभई ग्रामीण रोजगारी सृजना, कृषक सशक्तीकरण, दिगो पर्यटन र सामुदायिक विकासमा समेत सक्रिय रहनेछ ।



