काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना शेयरधनीलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (कर सहित) गरि कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरेको हो। प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार यस वर्ष लाभांश घोषणा गर्ने कामना सेवा पहिलो विकास बैंक बनेको छ। गत वर्ष बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्षको लाभांश दर गत वर्षको तुलनामा बढेको देखिन्छ, जसले बैंकको नाफा तथा वित्तीय स्थितिमा सुधार भएको सङ्केत गर्दछ।
नेपालको वित्तीय बजारमा प्रतिस्पर्धी वातावरण बढिरहेको बेला कामना सेवा विकास बैंकले शेयरधनीलाई आकर्षक लाभांश घोषणा गर्नु सकारात्मक सन्देशका रूपमा लिइएको छ। यसले लगानीकर्ताको विश्वास बढाउने मात्र होइन, पूँजी संरचना सुदृढ गर्न र बजारमा बैंकको छवि अझ सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।



