काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमानमाथि गरिने कुनै पनि हेपाह प्रवृत्ति कदापि नसहने दृढता व्यक्त गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनको अन्तिम दिन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले देशको इज्जत र स्वाभिमानमाथि गरिने कुनै पनि प्रहार एमालेलाई स्वीकार्य नहुने प्रस्ट पारेका हुन् ।
प्रधानमन्त्री ओलीले बेथिति र हेपाहा प्रवृत्तिका विरुद्धमा एमाले सधैँ उभिने बताए । राष्ट्रियता कुनै कविता वा छन्दमा सीमित नरहेको उनले बताए । उनले भने, ‘राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन । हामी वाक् स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिएर आएका शक्ति हौँ ।’
सामाजिक सञ्जालका विरुद्धमा एमाले नरहेको स्पष्ट पार्दै उनले नेपालमा व्यवसाय गर्ने तर कानुन नमान्ने कुरा स्वीकार्य नहुने बताए । पछिल्लो समयमा विरोधका लागि मात्रै विरोध गर्ने ‘पात्र पुतली’ जस्ता मानिसहरू हावी भएकोमा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरे । उनले ‘कहलिएका बुद्धिजीवी’ हरूको चिन्तन नै स्वतन्त्र नभएको र उनीहरूले समाजलाई कसरी प्रभावित गर्न खोजेका छन् भन्ने प्रस्ट भएको बताए । विशेषगरी ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ‘जेनजी’ पुस्ता देशलाई माया गर्ने र उनीहरूलाई गलत दिशामा लैजाने प्रयास असफल हुने विश्वास व्यक्त गरे ।
सामाजिक सञ्जाललाई दर्ता गर्न सरकारले एक वर्षअघिदेखि नै भन्दै आएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले देशको स्वाधीनताभन्दा चार जनाको रोजगारी ठूलो नहुने तर्क गरे । उनले देशको कानुन, संविधान, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्तालाई नमान्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ,’ उनले भने ।




