काठमाडौं । अछामकी सपना शाही भनिने एक २३ वर्षीया महिलालाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१० बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ । डेढ महिनाको अन्तरालमा दुई जना नेपाल आर्मीका युवाहरूसँग नक्कली बिहे गरी गरगहना र नगद ठगी गरेको आरोप उनीमाथि छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी मोहनजंग बुढथापाका अनुसार, सपनालाई बसबाट आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनीमाथि नक्कली बिहे गरी ठगी गरेकोबारे थप अनुसन्धान भइरहेको छ ।
यसअघि नै, नक्कली बिहे गराउँदा बाबुआमाको भूमिका निर्वाह गरेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित सदाशंकर होटलका सञ्चालक ४० वर्षीय गोपालकुमार विक र ३८ वर्षीया भविसरा रास्कोटी मगर दम्पतीलाई भदौ १७ गते पक्राउ गरी अनुसन्धान जारी छ ।
दैलेख घर भई सुर्खेतमा होटल चलाउने यो दम्पतीले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग बिहेको कुरा चलाउँथे । बिहेको निर्क्यौल भएपछि उनीहरू नक्कली आमाबुवा तथा सपना छोरी बन्थिन् । बिहेपछि सपना गरगहना र नगद लिएर बेपत्ता हुन्थिन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सपनाले फरकफरक मितिमा विभिन्न पुरूषहरूसँग बिहे गरेको खुल्न आएको छ । पछिल्लो घटनामा साउन ३० गते बाजुराका २८ वर्षीय रोहित राउदले त्रिवेणी नगरपालिका-९ स्थित आफ्नै गाउँमा सपनासँग सांस्कृतिक परम्पराअनुसार धुमधामले बिहे गरेका थिए ।
बिहेपछि भदौ १० गते राउद दम्पती सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित विक दम्पतीले सञ्चालन गरेको होटलमा गए । सो होटलमा सपनाले काम गर्ने गरेको बुझिएको छ, यद्यपि विक दम्पतीले प्रहरी बयानमा सपनालाई धर्मपुत्री भनेका छन् । हप्ता दिन सँगै बसेपछि सपनाले काठमाडौंमा पढ्न जाने इच्छा व्यक्त गरिन् । रोहितले उनका ‘बाबुआमा’ सँग सल्लाह गरेपछि डेढ लाख रकम दिएर काठमाडौं पठाए, साथमा बिहेका गरगहना पनि लिएर गइन् ।
सुरुमा सम्पर्कमा रहे पनि केही समयपछि सपना सम्पर्कविहीन भइन् । रोहितले खोजतलास गर्दा वीरेन्द्रनगरको होटलमा विक दम्पतीलाई पनि भेट्टाएनन् । आफू ठगीमा परेको चाल पाएपछि तीन दिनअघि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा डेढ महिना पहिले पनि सपनाले रोहितलाई जस्तै गरी जाजरकोटका अर्का एक नेपाली सैनिकसँग बिहे गरेको भेटिएको छ । ती सैनिकले पनि आफू ठगीमा परेको मौखिक जानकारी गराएका थिए, तर आज मात्रै लिखित उजुरी दिएका छन् । उनलाई पनि सपनाले पढ्न जाने बहाना बनाएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
अहिलेसम्मको अनुसन्धानबाट सपनाले तीन जना व्यक्तिसँग नक्कली विवाह गरी ठगी गरेको पाइएको छ । पक्राउ परेका होटल सञ्चालक विक दम्पती र सपनामाथि आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




