काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८१/८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।
बैंकको कोसी प्रदेशका १९, मधेस प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरू मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब १० औँ हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको र सँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको जानकारी दिइएको छ । यसबाट बैंकिङ प्रणाली मजबुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास लिएको बैंकले जनाएको छ ।




