सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय अपरिपक्व : पत्रकार महासंघ

काठमाडौं । नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले यसलाई अपरिपक्व कदम भन्दै तत्काल सच्याउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजैदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै महासंघले यस्तो प्रतिक्रिया दिएको हो ।

महासंघका महासचिव रामप्रसाद दाहालले सरकारको यो निर्णयले नागरिकको सूचना पाउने हक कुण्ठित हुने बताएका छन्। उनले भने, “नागरिकले सूचना आदानप्रदानका लागि अत्यधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित गर्नु हो। यसमा सहजीकरणको माध्यमबाट जानु पर्नेमा सरकारले सीधै बन्द गर्ने निर्णय गर्नु अपरिपक्व देखियो।”

महासंघले डिजिटल नेटवर्कको सुविधालाई बन्द गर्नुको सट्टा नियमन र सहजीकरणमा जोड दिनुपर्ने धारणा राखेको छ। महासचिव दाहालले सरकारलाई आफ्नो निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै भने, “डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन। सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको हो। यो निर्णयले आम नागरिकमाझ सूचनाको पहुँचमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा व्यापक चासो व्यक्त भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप