काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । उनले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र देशलाई अस्तव्यस्ततातर्फ धकेल्ने प्रयास भएको आरोप लगाएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले सरकारले समयमै आवश्यक कानूनी तथा प्राविधिक पूर्वाधार तयार नगर्दा यो समस्या आएको जिकिर गरे। उनले सामाजिक सञ्जालहरूको नियमन आवश्यक भए पनि त्यसका लागि स्पष्ट नीति र समस्याको पहिचान नगरी गरिने यस्ता निर्णयहरू स्वीकार्य नहुने बताए।
“सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ। यसको हामी घोर विरोध गर्दछौँ,” पाण्डेले भने, “नियमन गर्ने कुरा आवश्यक छ, तर यसका लागि सरकारले कहाँ समस्या हो, के-के हो हेरेर बल्ल नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ।”
पाण्डेले सामाजिक सञ्जालहरू आधुनिक सञ्चार र सूचना आदानप्रदानको अपरिहार्य माध्यम बनिसकेको भन्दै यिनीहरूको बन्दले नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहार हुने चेतावनी दिए। उनले सरकारलाई यो निर्णय फिर्ता लिई सरोकारवालाहरूसँगको छलफलबाटै उपयुक्त समाधान खोज्न आग्रह गरे।
माओवादी केन्द्रले सरकारको यस कदमविरुद्ध सशक्त प्रतिवाद गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि हरसम्भव प्रयास गर्ने पाण्डेले बताए ।




