फौजदारी कसुरदेखि भिसा उल्लंघनसम्म: अमेरिकाबाट थप ३७ नेपाली फर्काइयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले देशनिकालामा परेका ३७ नेपाली नागरिकलाई लिएर उडेको एउटा चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको अध्यागमन विभाग र प्रहरीलाई अमेरिकाले यससम्बन्धी प्रारम्भिक जानकारी गराएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेयता यो सहित कुल २ सय ५२ जना नेपाली नागरिकलाई अमेरिकाले निष्कासन गरी नेपाल फर्काएको अध्यागमन विभागले जनाएको छ । उनीहरूलाई निष्कासन गर्नुका विभिन्न कारणहरू अमेरिकाले उल्लेख गरेको छ ।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार देशनिकालामा परेका धेरैजसो नेपालीहरूको हकमा अमेरिकी अध्यागमन कानुन उल्लङ्घन गरेको कारण उल्लेख छ । यद्यपि, केही व्यक्तिको हकमा सवारी नियम उल्लङ्घन, यौन दुर्व्यवहार, बन्दुक बोकेर हिँडेका जस्ता गम्भीर आपराधिक घटनामा संलग्नता पनि पाइएको छ ।

प्रवक्ता ढकालले भने, ‘देशनिकालाका क्रममा धेरैजसोको हकमा त्यहाँको अध्यागमन कानुन उल्लङ्घन गरिएको कारण उल्लेख छ । त्यसबाहेक अन्य कतिपय हककोमा त्यहाँको सवारी नियम उल्लङ्घन, यौन दुर्व्यवहार, बन्दुक बोकेर हिँडेका जस्ता अपराधका घटनामा जोडिएको पाइएको छ ।’

तर, प्रायजसोमा अध्यागमन कानुन उल्लङ्घन गरेको भनिएकाले खास कारण खुट्ट्याउन सजिलो नभएको अध्यागमन अधिकारीहरू बताउँछन् । अमेरिकाको सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३८९ नेपाली नागरिक देशनिकालामा परेका छन् ।

नेपाल ल्याइपुर्‍याइएपछि देशनिकालामा परेकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा सामान्य सोधपुछ गरेर छाडिने गरिएको अधिकारीहरूले बताएका छन् । ब्यूरोका अनुसार सोधपुछका क्रममा नेपाल फिर्ता पठाइएका धेरैजसो मानिसहरू गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका र केही ठूला फौजदारी कसुर आकर्षित नहुने आपराधिक घटनामा संलग्न भएको पाइएको छ ।

प्रवक्ता ढकालका अनुसार, ‘अमेरिकाले आफ्नो नियमानुसार जति वर्षको लागि भनेर देशनिकाला गरेको भए पनि नेपालको कानुनअनुसार ती व्यक्तिले अन्य देशहरू जान, स्वतन्त्र आवागमन गर्न पाउँछन् ।’

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार, ‘हाम्रो कानुनका भरमा प्रहरीले उनीहरूलाई हामीले पीडितको दृष्टिकोणबाट कसैले झुक्क्याएर, प्रलोभनमा पारेर, नक्कली कागजात खडा गरेर लगेका हुन् कि भन्ने रूपमा सोधपुछ गरेर छाड्छ ।’ यद्यपि, पीडितको रूपमा हेरेर सोधपुछ गरिए पनि कसुरदार कायम गर्न नजिकका आफन्तबाट सुरु गर्नुपर्ने भएकाले धेरैजसोले त्यसो गरेको नपाइएको कुँवरले बताए । नयाँ आर्थिक वर्ष सुरु भएपछि यस विषयमा आधा दर्जनजति मुद्दा मात्र परेको ब्यूरोले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री