काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्द्धन र विकासका सम्भावनाहरू उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन’ को तयारीले तीव्रता पाएको छ । यसै सन्दर्भमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग आज भेटवार्ता गरे ।
बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री शाह र गभर्नर पौडेलबिच आगामी मङ्सिर १ र २ गते धनगढीमा हुने भनिएको लगानी सम्मेलनका विभिन्न आयामहरूका बारेमा गहन छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।
प्रदेश सरकारले सुदूरपश्चिमको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि यो सम्मेलनलाई महत्वपूर्ण अवसरका रूपमा लिएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्ने र पूर्वाधार विकासमा तीव्रता दिने लक्ष्य राखिएको छ ।
मुख्यमन्त्री शाहसहितको सुदूरपश्चिम प्रदेश सरकारको टोली यतिबेला सम्मेलनको तयारीका सिलसिलामा काठमाडौँमा सरोकारवाला निकायहरूसँगको भेटघाटमा व्यस्त छ । गभर्नर पौडेलसँगको भेटलाई सम्मेलनको आर्थिक तथा मौद्रिक पक्षलाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । प्रदेश सरकारले सम्मेलनलाई भव्य र सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



